काठमाडौँ । आफूले तत्काल सामाजिक सञ्जाल बन्द नगर्न आफूले आग्रह गर्दागर्दै केपी ओलीले अस्वीकार गरेको नेकपा (एमाले) का उपाध्यक्ष रघुजी पन्थले बताएका छन् ।
पन्तले २०८२ साल पुस ५ गते, शनिबार पद्मकन्या क्याम्पसको डेनिस हलमा प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा सम्पन्न ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो ।
“मैले मेटा सामाजिक सञ्जाललाई तत्कालै नियमन गर्ने विषयमा सोच्नु पर्दछ भनेको थिएँ’, प्रमुख अतिथि पन्तले भने– ‘तत्कालिन प्रधानमन्त्रीले मान्नु भएन, उहाँ झोंक्की हुनुहुन्छ, बन्द गरिहाल्नु भयो ।’ पन्तले नेपालका स–साना उद्योग कलकारखानाहरूले राज्यलाई कर तिर्नुपर्ने तर मेटा एउटा कम्पनीले नेपालको सार्वभौमसत्ता स्वीकार नगर्नु दुखद भएको बताए ।
सामाजिक सञ्जालका कैयौँ राम्रा पक्षहरू हुँदाहुँदै पनि त्यसले वर्तमान समाजलाई अध्ययनबाट विमुख बनाएको पन्तको भनाई थियो । ‘साहित्यले समाजको चेतना निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा खेल्ने भूमिका खेल्नु पर्ने हुन्छ’ पन्तले जोड दिए ।
कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) द्वारा विभिन्न साहित्यिक पुरस्कारहरूले प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई समर्पण गरिएको हो ।
यस वर्षको प्रलेस श्याम प्रसाद स्मृति पुरस्कार प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस प्रतिभा पुरस्कार लेखक तथा राजनीतिज्ञ अनिल शर्मालाई प्रदान गरिएको छ । त्यसैगरी प्रलेस बाल साहित्य पुरस्कार बाल साहित्यकार सुशिला प्रधानाङ्गलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रलेस युवा पुरस्कार युवा लेखक तथा साहित्यकार रूपक अलंकारलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्तद्वारा पुरस्कृत गरिएको थियो ।



No comments:
Post a Comment